टस जितेर पहिलो ब्याटिङ गरेको जनजागृति युवा क्लबले निर्धारित २० ओभरमा १ सय १२ रन बनाएको थियो । जनजागृति युवा क्लबका तर्फबाट निखिलले १७ बलमा २३ रन बनाएदा एक छक्का र दुई चौका प्रहार गरेका थिए भने मदन ओलीले २२ बलमा १८ रन बनाएका थिए साथै रावल मण्डलले १७ बलमा १७ रन बनाएका थिए।
जनजागृति युवा क्लबलाई १ सय १२ रनमा समेट्न बर्दिया क्रिकेट एकेडेमी ए का तर्फबाट बलिङ गर्दै बिरुले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिएका थिए भने निर्मल गुरुङले चार ओभरमा १३ रन खर्चेर दुई विकेट लिएका थिए।
१ सय १२ रनको लक्ष्य लिएर आएको बर्दिया क्रिकेट एकेडेमी ए ले एकेडेमीका ब्याट्सम्यान समिर आचार्यको आकर्षक ३३ बलमा ५० रनको मद्दतले १५ ओभरमै पाँच विकेट गुमाएर १ सय १३ रनको विजय लक्ष्य प्राप्त गरेको थियो। समिर आचार्यले आफ्नो ५० रन पूरा गर्ने क्रममा छ चौका र एक चक्का प्रहार गरेका थिए।
साथै बर्दिया क्रिकेट एकेडेमी ए का निर्मल गुरुङले नट आउट २१ बलमा २९ रन बनाएका थिए। बलिङतर्फ जनजागृति युवा क्लबका आकाशले चार ओभरमा २२ रन दिएर तीन विकेट लिएका थिए।
आफ्नो टिम बर्दिया क्रिकेट एकेडेमी ए लाई विजय गराउन महत्वपूर्ण योगदान गरि ५० रन बनाएका समिर आचार्य म्यान अफ द म्याच घोषित भएका थिए।
लिगको आधारमा खेलाइएको यस प्रतियोगितामा बर्दिया जिल्ला भित्रका पाँचवटा टिम सहभागी रहेको प्रतियोगिता मङ्सिर १४ गते सम्म सञ्चालन हुने बर्दियाका सदस्य सिद्धार्थ श्रेष्ठले जानकारी दिए।
सात दिनसम्म चल्ने यस बर्दिया कप टि-२० क्रिकेट लिग प्रतियोगिताबाट नयाँ खेलाडीहरु र स्थानीय स्तरमा अवसर नपाएका खेलाडीहरूले आफ्नो खेल देखाउने ठूलो अवसर रहेको समेत जिल्ला क्रिकेट सङ्घ बर्दियाका अध्यक्ष बिनय राजभण्डारीले बताए । यस्ता किसिमका प्रतियोगिताहरू विगत वर्षहरुमा पनि हुने गरिरहेको र यसलाई निरन्तरता दिन सके यस्ता प्रतियोगिता बर्दिया क्रिकेटको मेरुदण्ड साबित हुने र नयाँ नयाँ खेलाडीहरू उत्पादन हुने समेत क्रिकेट सङ्घका अध्यक्ष बिनय राजभण्डारीले जानकारी दिए।
भोलि मङ्सिर ९ गते बिहान ८ :३० बजे कृष्णसार युवा स्पोर्ट्स क्लब गुलरिया र बर्दिया क्रिकेट एकेडेमी बी बीच हुने आयोजकले जनाएको छ भने दोस्रो खेल राजापुर नगरपालिका र बर्दिया क्रिकेट एकेडेमी ए बीच दिनको १२:३० बजे हुने समेत आयोजकले जानकारी दिएको छ।