ए.बि.पि न्युज नेपाल
राम प्रसाद चौहान

बर्दिया,मंसिर १९
शिक्षा र खेलकुदलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका मन्त्री जन्मजय तिमिल्सिनाले बताएका छन् । ‘खेलकुदमा सहभागिता, गुलरियाको प्रगति र एकता’मुल नाराका साथ गुलरिया नगरपालिका स्तरीय सत्रौं राष्ट्रपति रनिङ्ग शिल्ड तथा पाँचौ मेयरकप खेलकुद प्रतियोगिता २०८१ को मंगलबार उद्घाटन गर्दै मन्त्री तिमिल्सिनाले यस्तो बताएका हुन् ।
शिक्षाको स्तर कसरी बृद्धि गर्ने र क्वालिटी एजुकेशन निर्माणको लागि आफुले बहस गरिरहेको मन्त्री तिमिल्सिनाले बताए । ‘आइटि वा शिक्षा क्षेत्रमा परिवर्तन गरेर हुन्छ की पढाउने पद्धतिमा परिवर्तन गरेर हुन्छ,’मन्त्री तिमिल्सिनाले भने,‘हामीले शिक्षामा परिवर्तन गर्न जरुरी छ ।’ यदि शिक्षामा परिवर्तन गर्न सकेनौं भने समाजलाई रुपान्तरण गर्न नसक्ने मन्त्रीले बताए । ‘समाजलाई रुपान्तरण गर्नको लागि शिक्षा समाजको ऐना हो,’मन्त्री तिमिल्सिनाले भने,‘समाजको ऐना नै धमिलो भयो भने समाजलाई रुपान्तरण गर्न सकिदैन ।’
आफ्नो मन्त्रालयको बजेटले भ्याएसम्म खेलकुद र शिक्षालाई पहिलो प्राथमिकतामा दिईनेछ । खेलकुद स्वास्थ्यसंग मात्र सम्बन्धित नभई पर्यटक, आर्थिक उन्नति, कृषि, शिक्षा र अन्य व्यवसायीसंग जोडिएको हुन्छ । अन्य मुलुक भन्दा हामीले खेलकुद क्षेत्रलाई महत्व दिन नसकेको मन्त्री तिमिल्सिनाले सुनाए । मुलुकको अवस्था नाजुक भएर होला । खेलकुद क्षेत्रलाई बुझाउन नसकेर र चिनिएका खेलाडीको अवस्था राज्यको नेतृत्वले अभिलेख राख्न नसकेको मन्त्री तिमिल्सिनाले धारणा व्यक्त गरे । तर खेलाडीहरुलाई गर्ने सम्मान र सहयोगको लागि आफु प्रतिबद्ध रहेको मन्त्री तिमिल्सिनाले भनाई राखे ।
नगरका ५४ वटा विद्यालयलाई खेलकुदको माध्यमबाट एक ठाउँमा उभ्याउन पाउँदा धेरै खुसी लागेको गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले बताए । ‘यो अवसरले सम्पुर्ण विद्यार्थी र शिक्षकको भेट गराएको छ,’ नगर प्रमुख यादवले भने,‘यस प्रतियोगितामा विद्यार्थीहरुले सानदार प्रतिभा देखाउनु भएको छ ।’ खेलको साथसाथै पढाईमा पनि विद्यार्थी भाईबाहिनीहरुले ध्यान दिन जरुरी रहेको नगर प्रमुख यादवले भनाई राखे ।
गुलरिया नगरपालिका–४ कभर्डहलको खेल मैदानमा मंगलबार उद्घाटन भएको खेलकुद प्रतियोगितामा नगरका ५४ वटा विद्यालयले मार्च पास प्रदर्शन गर्दै मन्त्री तिमिल्सिनालाई सलामी अर्पण गरेका थिए ।
मार्च पास प्रर्दशन गर्दा विभिन्न भेषभुषा र संस्कृति झल्किएको थियो । विद्यार्थीहरुले आ–आफ्नो विद्यालयका पोसाक र हातमा रंगीचंगी झिलिमिलि बाँधेर मार्च पास प्रदर्शन गर्दाको महोल जो कोहीको ध्यान आकर्षित गरेको थियो ।
आज बुधबार देखि अन्य खेल नियमित गराउने आयोजक समितिका संयोजक माधवराज शर्मा ढकालले बताए । ‘बिहान एथलेटिक्स, दिउँसो भलिबल र कबड्डी खेल हुनेछ,’ संयोजक ढकालले भने,‘क्रिकेट खेल फाइनल भईसकेको छ ।’ त्यसैगरि आधारभूत तहको कलस्टर वाइज प्रतिस्पर्धाबाट खेलाडीहरु आईसकेका छन् । शुक्रबार प्रतियोगिताको समापन गर्ने तयारी रहेको संयोजक ढकालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दुर्घटना हुँदा एकको मृत्यु

बर्दियामा दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु

बर्दियामा जुवातास खेलेको आरोपमा ८ जना पक्राउ

बर्दियामा सशस्त्र प्रहरीले पक्राउ गरेका पटक जन्य डिस्पोज गरियो

सहकारी संस्था लिमिटेड गणेश बाबा शाखा द्वारा श्रद्धान्जली सभा तथा सुबिधा वितरण कार्यक्रम सम्पन्न

बर्दियामा नगदसहित ६ जुवाडी पक्राउ


TOP