रामप्रसाद चौहान
बर्दिया,भाद्र २१
कृषि क्षेत्रको बजेट प्रत्येक वर्ष ओरालो लाग्दै गएको एकिकृत कृषि तथा पशुपंक्षि विकास कार्यालयका प्रमुख सागर ढकालले बताएका छन् । एकिकृत कृषि तथा पशुपंक्षि विकास कार्यालयद्वारा बिहीबार आयोजित आर्थिक वर्ष २०८१÷०८२ को कार्यक्रम सार्वजनिकीकरण तथा सार्वजनिक सुनुवाई समारोहमा प्रमुख ढकालले यस्तो बताएका हुन् । गत आर्थिक वर्षको बजेट भन्दा ३८ प्रतिशत घटेर चालु आवको वार्षिक बजेट आएको प्रमुख ढकालले बताए । ‘संघिय र प्रदेशको गरि चालु आर्थिक वर्ष २०८१÷०८२ को लागि रु ७ करोड ४४ लाख ८० हजार वार्षिक बजेट प्राप्त भएको छ,’ प्रमुख ढकालले भने,‘प्राप्त बजेटमा ७ वटा उपशिर्षकमा वार्षिक कार्यक्रम संचालन गर्दैछौं ।’ चालु आर्थिक वर्षमा गर्ने कार्यक्रम कार्यालयको वेबसाइडमार्फत कृषकहरुलाई जानकारी गराईरहेको जनाए । प्राप्त कार्यविधि अनुसार कार्यक्रम गरिने प्रमुख ढकालले बताए । ‘कार्यालयमा दरबन्दी अनुसारको जनशक्ति नहुँदा काम समस्या भईरहेको छ,’प्रमुख ढकालले भने,‘कहिले काही कुनै कार्यक्रमको कार्यविधि नै ढिलो आउँछ ।’ जसले गर्दा गाह्रो हुन्छ । त्यसैगरि गत आवमा असार २४ गते बन्द हुनुपर्ने खाता प्रदेशले असार २२ गते बन्द गर्दा व्यवसायीहरुको भुक्तानी भएको छैन । कार्यालयबाट भुक्तानी हुनुपर्ने रु ७७ लाख भुक्तानी नहुँदा फोन आएर तनाव भईरहेको कार्यालय प्रमुख ढकालले जानकारी दिए ।
कृषि पेशामा लागेका कृषकलाई राज्यले आवश्यक पर्ने चिज उपलब्ध गराउन नसक्नु दुखद रहेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष यादव आचार्यले बताए । ‘राज्यले जिल्लामा कृषि पसल खोल्यो तर, किसानले पुर्ण रुपमा सेवा पाएका छैनन्,’अध्यक्ष आचार्यले भने,‘बजेट अभावका कारण कृषि कार्यालयले किसानलाई सन्तोषजनक सेवा दिन सकेका छैनन् ।’ विभिन्न कुराको अभावले गर्दा कृषकले कृषि पेशालाई औद्योगिककरण गर्न सकेका छैनन् जसले गर्दा कृषि पेशा छोडेर युवाहरु बिदेशीन बाध्य भएको अध्यक्ष आचार्यले सुनाए । कार्यक्रम सार्वजनिकीकरण तथा सार्वजनिक सुनुवाई समारोहमा व्यवसायिक संजाल, दूग्ध सहकारी, कृषि सम्बन्धि काम गर्ने सहकारीका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
TOP