पहिले बाजाहरूमध्ये सबैभन्दा बढी बिक्री हुने मादलसमेत अचेल बिक्री हुन छोडेको छ । यसले व्यवसाय नै सङ्कटमा परेको तीर्थ बादी बताउँछन । “पहिले चाडपर्वहरूमा मादल पुर्याउनै सकिँदैनथ्यो, अहिले बिक्री नै हुँदैन । मगर गाउँका स्थानीय, थारु समुदायले धेरैजसो मादल किन्ने गर्दथे, अहिले पसलमा त आउँदैनन्, गाउँमा लगेर गए पनि किन्न त परै जाओस्, सोध्ने मान्छेसम्म भेटिँदैनन्”, उनले भने ।
व्यवसायी रविलाल बादीले डिजेलगायत आधुनिक बाजाका कारण मादल व्यवसायमा सङ्कट आएको बताए । “पहिले रत्यौली, तीज, देउसीँभैलो, विद्यालयस्तरमा हुने सांस्कृतिक कार्यक्रमलगायतमा मादलको अनिवार्य प्रयोग हुने गथ्र्यो तर पछिल्लो समय मादलको सट्टा डिजे प्रयोग हुन्छ । त्यसैले पनि हाम्रो पेसा सङ्कटमा पर्यो ”, उनी भन्छन ।
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् टि एन जोशी मादल प्रयोग घटेसँगै परम्परागत संस्कृतिमा मौलिकता हराउँदै गएको धारणा राखे । “केही दशक पहिले गाउँघरमा थुप्रै मादल बजाउने मान्छे भेटिन्थे तर अहिलेको पुस्तामा मादल बजाउन जान्ने मान्छे मुस्किलले भेटिन्छन्”, उनी भन्छन, “अब मौलिकता जोगाउन विद्यालयस्तरबाटै मौलिक बाजाको प्रयोग र सिकाइमा जोड दिनुपर्ने आवश्यकता छ ।”
नेपालको राष्ट्रिय बाजाको रूपमा रहेको मादल लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षण गर्ने दायित्व सरकारको भएको व्यवसायीका भनाइ छ । व्यवसायी तीर्थ बादी भन्छन, “अब आउने पुस्तालाई यसको महत्वको बारेमा बुझाउनुपर्छ । यो दायित्व सरकारको पनि हो । हामी त पुस्तौँदेखिको पेसा भएकाले माया लागेर पनि यसको संरक्षणमा लागिरहेकै छौँ ।”
सङ्कटमा पर्दै गएको व्यवसायलाई जोगाइ मौलिक बाजाको संरक्षण र प्रवर्द्धनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले केही कार्यक्रम ल्याइदिनुपर्ने सबैजसो मादल व्यवसायीको माग छ ।साभारखबरकुरा